पर्यटक प्रवेशशुल्कमा मकालु निकुञ्जको अराजकताः टानको आपत्ति

मनलाग्दी शुल्क उठाउने कार्य तत्काल बन्द नगरे सम्पूर्ण पर्यटन व्यवसायीहरु आन्दोलनमा उत्रने चेतावनी
निर्माण सञ्चार, काठमाडौं | मकालु वरुण राष्ट्रिय निकुञ्जले सो क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुलाई अत्याधिक रुपमा शुल्क वृद्धि गरेको विषयप्रति ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)को गहिरो ध्यानाकर्षण भएको छ ।

उक्त निकुञ्जले निकुञ्ज भित्र प्रवेश गर्नेहरुबाट प्रति व्यक्ति ३००० रुपियाँ र क्यापिङ गर्नेहरुबाट प्रति पर्यटक २००० का दरले शुल्क उठाउन थालेको र नेपाली गाईडलाई प्रवेश गरे वापत १५०० रुपियाँ शुल्क लिने गरेको छ ।

देश संघियतामा गएसँगै यसरी प्रत्येक महिना जस्तै मुलुकका विभिन्न भागमा रहेका पदयात्रा क्षेत्रहरुका गाविसहरुले तथा राष्ट्रिय निकुञ्जहरुले विना पूर्व सूचना अराजक किसिमले आफुशुखी शुल्क लिने कार्यहरु तिव्र रुपमा बढ्दै गएकोप्रति टानले आपत्ति जनाएको हो ।

पर्यटकलाई मात्रै सिकारको रुपमा प्रयोग गरेर यसबाट पर्ने दिर्घकालिन असरको कुनै ख्यालै नगरि पर्यटन क्षेत्रलाई नै अस्तव्यस्त र ध्वस्त बनाउने जस्ता गैरजिम्मेवारी पूर्ण कार्य तत्काल बन्द गराउन टानले नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ ।

साथै खुम्बु पासाङ ल्हामु गाविसले सो क्षेत्रमा रहेको टिम्स काउण्टर जबरजस्ती बन्द गराई प्रति पर्यटकबाट २००० रुपियाँ लिने गरेको टानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यससँगै स्थानीय सरकारको दबाबमा त्यहाँका होटलहरु तथा लजहरुले खानाको र पदयात्रा सहयोगीहरुको शुल्क तोक्ने जस्ता गैरजिम्मेवारपूर्ण कार्य गर्दै आइरहेका छन् ।

सोही किसिमको अराजक कार्य मनास्लु क्षेत्रमा पनि बढेकोले यसको गहिरो र नकारात्मक असर समग्र पर्यटन क्षेत्रमा पर्न गएको विज्ञप्तिमा उल्लेख छ ।

पर्यटन क्षेत्र नै धरासायी हुने गरी गरिएको यस्ता अराजक कार्यप्रति अब मुखदर्शक भएर हेरेर बस्न नसकिने टानको दाबी छ ।

यसरी शुल्क उठाउने कार्यलाई तत्काल बन्द नगरे सम्पूर्ण पर्यटन व्यवसायीहरु नै आन्दोलनमा उत्रने चेतावनी दिँदै टानले यसबाट पर्ने सम्पूर्ण परिणामको जिम्मेवारी नेपाल सरकार स्वंयमले नै लिनुपर्ने बताएको छ ।

टानद्वारा जारी विज्ञप्ति

...

सोमबार, २६ कार्तिक २०७५ 

प्रतिक्रिया

Related