४४ हजार पुरस्कारसहित बझाङका निर्माण व्यवसायी विष्ट सम्मानित

बाउली गाड र सेतीनदीमा तटबन्ध निर्माणको काम तोकिएको समयभन्दा अगाडि नै पूरा
निर्माण सञ्चार, बझाङ | तोकिएको समय अगाडि नै काम सम्पन्न गरेकाले बझाङका निर्माण व्यवसायी दल विष्ट सम्मानित भएका हुन् ।

उनलाई स्थानीयवासीसँगै सरकारी कार्यालयले सम्मान गरेका हुन् ।

निर्माण–व्यवसायी विष्टले सम्मानसँगै नगद पुरस्कार पनि पाएका छन् । उनले सरकारी कार्यालय भवन निर्माण गर्दा ४४ लाख पुरस्कार पाएका हुन् ।

विष्टले बिकोई बिल्डर्स प्रालिमार्फत बझाङमा निर्माणको काम गरेका थिए । उनले बाउली गाड र सेतीनदीमा तटबन्ध निर्माणको काम तोकिएको समयभन्दा अगाडि नै पूरा गरेका हुन् ।

त्यस्तै, जिल्ला मालपोत कार्यालय र जिल्ला हुलाक कार्यालयको भवन पनि ठेक्काको म्यादअघि नै पूरा गरेका छन् । ३ वर्षयता बझाङमा निर्माणको काम राम्रोसँग र छिटो पूरा गरेकाले उनलाई सम्मानित गरिएको बताइएको छ ।

‘धेरै निर्माण–व्यवसायीले ठेक्का हाल पार्ने तर समयमै काम नगर्ने गरेका थिए, मैले समयभन्दा अघि नै काम सम्पन्न गरेँ,’ निर्माण–व्यवसायी विष्टले भने, ‘यो सम्मानले अरू योजनाको कामलाई पनि तीव्रता दिन हौसला मिलेको छ ।’

हाल जिम्मा पाएका योजनाहरू पनि तोकिएको समयभन्दा अगाडि नै पूरा हुने गरी काम भइरहेको उनको भनाइ छ ।

‘सबै योजनाको ७० प्रतिशत काम सकिएको छ, बाँकी काम ५ महिनाभित्र सक्ने योजना छ,’ उनले भने । ‘छिटोछरितो गुणस्तरीय काम गरेको छु, अरू योजना पनि समयमै सम्पन्न गर्नेछु,’ विष्टले भने ।

अहिले विष्टले चैनपुर रिङरोड, जिल्ला अदालतदेखि चौराहसम्मको सडक र जिपपार्कदेखि जिल्ला प्रहरी कार्यालयसम्मको सडकको कालोपत्रेको काम गरिरहेका छन् ।

यस्तै, बझाङकै मटेला स्वास्थ्य चौकी ठेक्का पनि बिकोइ बिल्डर्समार्फत उनले नै गरिरहेका छन् । यी सबै गरी ३ करोड ७६ लाखका योजना छन् ।

तोकिएको समयभन्दा दुई सय दिन (झन्डै ६ महिना)अघि काम सम्पन्न गर्ने निर्माण–व्यवसायीले पुरस्कारस्वरूप थप १० प्रतिशत रकम पाउने व्यवस्था छ ।

विष्टले जिल्ला मालपोत कार्यालय र जिल्ला हुलाक कार्यालयको भवन तोकिएको समयभन्दा दुई सय दिनअघि न पूरा गरेका हुन् ।

मालपोत कार्यालयको भवन हस्तान्तरण गर्दा १० प्रतिशत बराबर ३२ लाख र हुला कार्यालयको भवन हस्तान्तरण गर्दा उनले १२ लाख प्राप्त गरेका हुन् । ।

....

बुधबार, २८ कार्तिक २०७५ 

प्रतिक्रिया

Related