कुन खाद्यान्नमा कस्तो अखाद्य मिसाओट पाइएको छ ?

निर्माण सञ्चार ।

कालोबजारी बढेसँगै व्यापारीहरु आफ्नो मुनाफा आर्जन गर्न खाद्य वस्तुमा अखाद्य वस्तु मिसाई ग्राहकहरुलाई बढी मूल्यमा बिक्री गरिरहेको छ । खाद्य वस्तु उत्पादन गर्ने उद्योग, व्यवसायी र व्यापारीहरुको मिलेमतोमा खाद्य वस्तुसँग मिल्ने उस्तै अखाद्य बस्तु मिसावट गरेको पाइएको छ।

यसरी मिसावट भएको खाद्यान्न खाँदा उपभोक्ता कति सुरक्षित छन् त भन्ने प्रश्न गम्भिर रुपमा खडा भएको छ। बढी मूल्य तिर्दा पनि अचेल खाद्यवस्तुहरु मिसावट रहित पाइँदैन ।

उपभोक्ताले खरिद गर्ने गरेका त्यस्ता वस्तु वा सेवाको गुणस्तर, शुद्धता, परिमाण वा तौलमा समेत भने बमोजिम नपाइने गरेको छ । नेपाल खानेपानी संस्थानले आपूर्ति गर्ने खानेपानी र दुग्ध विकास संस्थानले उत्पादन गर्ने दुग्ध जन्य परिकारमा पनि गुणस्तर नहुने गरेको छ ।

त्यसैगरी नेपाल खाद्य संस्थानले वितरण गर्ने चामलदेखि निजी क्षेत्रहरुले मिति सकिएको चामललाई मेसिनमा पुनः हालेर पोलिस लगाई विक्री गर्ने पाइएको छ । उपभोक्ताले उपभोग गरिरहेको दैनिक प्रयोगमा आउने चामलमा उद्योग, व्यवसायी तथा व्यापारीहरुले चामलकै रङ, आकार र उस्तै देखिने मिसिनले कट गरेका ढुङ्गा मिसावट गरिरहेको बानेश्वरकी सुभद्रा खनालले दाबी गरिन्।

सामान्यत चामल खरिद गर्दा आँखाले चिन्न नसकिने तर खाना खाँदा थाहा हुने गरेको सर्वसाधारणको गुनासो छ। त्यस्तै दालमा पनि दालजस्तै अखाद्य वस्तु मिसावट गरिरहेको उपभोक्ताहरुले आरोप लगाएका छन् ।

उद्योगी व्यवसायी तथा साना व्यापारीहरुले समेत हामीले तरकारीको स्वादकालागि प्रयोग गरिने बेसारमा विभिन्न प्रकारका अन्नबालीको पिठो मिसावट गरेको पाइन्छ।

त्यस्तै खुर्सानीको धुलोमा इँटाको मसिनो धुलाका कणहरु मिसावट भइरहेको छ। मसलाको धुलोमा काठ चिरान गर्दा निस्केका मसिना धुलाको कण प्रयोग गरिरहेको छन्। चियापत्तिमा पनि एकपटक प्रयोग गरिसकेको चियापति पुनः सुकाएर प्रयोग गरिरहेको सातदोबाटोका अनिल महर्जनले बताए। त्यस्तै तेलमा समेत मिसावट हुने गरेको छ।

कतिपय तेल उत्पादन गर्ने उद्योग तथा व्यवसायीहरुले तोरी तथा सनफ्लावरको तेलमा भटमासको मिसावट गर्ने गरको उपभोक्ताहरु बताउँछन। त्यति मात्र नभए तेलमा पाम ओयल समेत मिसावट गर्ने गरेका छन।

सानादेखि ठूला दूध उद्योगहरुले पनि नफाटोस भनेर सोडा मिसावट गर्ने गरेको पाइन्छ। बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्नेप्राय सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भएपनि यसको अनुगमन गर्ने निकायमा भने कुनै गुनासो नआएको खाद्य तथा गुण नियन्त्रण विभागले जनाएको छ

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा प्रवक्ता पूर्णचन्द्र वस्ती भन्छन, बजारमा उद्योग तथा व्यवसायीले खाद्य वस्तुमा अखाद्य बस्तुको मिसावट गरिरहेको आवाज सुनिएपनि उपभोक्ताहरुले भने अहिलेसम्म खासै गुनासो गरेका छैनन्।

धेरै जस्तो उपभोक्ताले खानेपानीमा लेउ लागेको छ भनी गुनासो व्यक्त गर्ने गरेको वस्तीले बताए। साथै उपभोक्ताले केक परिकार खादा पखाला लागेको जस्तो गुनासो विभागलाई सुनाउने गरेको उनले बताए।

त्यसबाहेक विभागमा बाहिर खुल्ला ठाउँका खाने परिकार बनाएर बेचिरहेको व्यापारीलाई परिकार बनाउन प्रतिबन्ध गर्न समेत जनताबाट गुनासो आइरहेको उनले बताए। यदा कदा कहिले कहाँ त्यस्तो अखाद्य बस्तु मिसावट मिसाएको पाएमा समानको जफत र सचेतना समेत गराउने गरेको वस्तीले बताए।

खाद्य बस्तुमा अखाद्य बस्तु मिसावट भए नभएको अनुगमन गर्ने नियामक निकाय नै उपभोक्ताबाट गुनासो आएको छैन भनी मौन बस्न नमिल्ने उपभोक्ता हित संरक्षणका केपी लम्सालको भनाई छ।

नियामक निकायले खाद्य ऐन २०२३ र नियमावली २०२७ मा टेकेर खाद्य वस्तु उपभोग गर्दा उपभोक्ताले गुणस्तर भएको सामान प्रयोग गर्नबाट बन्चित भए नभएको निरन्तर अनुगमन गर्न आवश्यक पर्ने उनको तर्क छ।

अनुगमन गर्ने निकायले जनातबाट गुनासो आएको छैन र जनशक्ति कमी छ भन्दै उपभोक्ताको जिउ ज्यान र सम्पत्तिमा उत्पादक र व्यापारीले खेलबाड गर्न नपाइने लम्सालले बताए।

नियामक निकायले जनताबाट गुनासो आएको छैन भन्दै गुनासो गर्ने ठाउँसमेत नदेखाएको लम्सालको तर्क छ। उनले भने, ‘जनतालाई आफुले खरिद गरेको खाद्य बस्तुमा अखाद्य बस्तुको मिसावट भएको छ भनी गुनासो गर्ने निकाय र निकायको सम्बन्धित ठाउँसमेत थाहा छैन।’

खाद्य वस्तुमा अखाद्य वस्तुको मिसावटबाट बच्नको लागि नियामक निकायको निरन्तर अनुगमन, उपभोक्ता आफैँपनि सचेत हुनुपर्ने र उपभोक्तावादी संघसंस्थाले पनि सचेत गराउन आवश्यक रहेको लम्सालको भनाइ छ ।

सेतीपाटीबाट

प्रतिक्रिया

Related